विजयादशमीमा ब्रह्मायणी जात्रामा रातिदेखि नै भक्तजनको घुइँचो

बेद प्रसाद घिमिरे

भक्तपुर, कात्तिक ५ गते। विजयादशमीका अवसरमा भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने परम्परागत ब्रह्मायणी जात्रामा रातिदेखि नै भक्तजनको घुइँचो लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा पूजिने ब्रह्मायणी मन्दिरमा दर्शन तथा पूजाआजा गर्न भक्तपुरसहित काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु पुगेका छन्।

विजयादशमीका दिन ब्रह्मायणी मन्दिरमा त्रिपुरासुन्दरी प्रकट हुने जनविश्वासअनुसार परापूर्वकालदेखि नै यहाँ भव्य मेला लाग्दै आएको छ। भक्तपुरका स्थानीय बासिन्दा मध्यरातदेखि नै धिमेबाजा बजाउँदै घरघरबाट पूजा सामग्रीसहित मन्दिर पुग्ने परम्परा छ। नेवार समुदायमा विजयादशमीलाई ‘मोहनी नखः’ का रूपमा मनाउने चलन छ। यस दिन घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा सामग्री लिएर ब्रह्मायणी मन्दिर जाने धार्मिक परम्परा रहेको छ।

जात्राको विशेष आकर्षणका रूपमा व्रत बसेका भक्तजनले घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात तथा १८ वटा दियो बालेर यात्रा पूरा गर्ने गरेका छन्। कतिपय भक्तजनले शरीरमा बत्ती बाल्दै र शरीर नाप्दै मन्दिर पुगेर पूजाआजा गर्छन्। यसरी ब्रह्मायणीको दर्शन तथा पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने र पुण्य प्राप्त हुने जनविश्वास छ। मन्दिरमा दिनभरि नै दर्शनार्थीको आवागमन हुने र मेला भव्य रूपमा लाग्ने गर्दछ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुललगायत क्षेत्रका साथै काभ्रे, ललितपुर र काठमाडौंबाट समेत भक्तजन आउने गर्छन्। मन्दिरमा जमरा, हाँसको फूललगायत पूजासामग्री चढाउनुका साथै परम्पराअनुसार हाँस, बोका र कुखुराको भालेको बलि दिने चलनसमेत छ।

जात्रा सुरु हुनुअघि मङ्गलबार साँझ नवदुर्गा मन्दिरमा पालिएको महिषासुर दैत्यको प्रतीक ‘खःमेय’ अर्थात् राँगोलाई जाँड खुवाएर मत्ताइन्छ। त्यसपछि अबिर र तेल दलेर दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्‍याई बध गर्ने परम्परा छ। यही विधि पूरा भएपछि रातिदेखि ब्रह्मायणी जात्रा सुरु हुने गर्दछ। धार्मिक आस्था, मौलिक संस्कृति र नेवारी परम्परासँग जोडिएको यो जात्रा भक्तपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो।